रत्ननगर, जेठ १ । ‘पैदलमैत्री र साइकलमैत्री पूर्वाधार विकासलाई प्राथमिकता दिऔं। सडक सुरक्षा र गुणस्तरीय स्वास्थ्य निर्माणमा सबै जुटेर लागौं’ भन्ने मूल नारासहित आठौं संयुक्त राष्ट्रसंघीय विश्वव्यापी सडक सुरक्षा सप्ताहको अवसरमा रत्ननगरमा साईकल यात्रा गरिएको छ।
साइकल यात्रा रत्ननगर नगरपालिका कार्यालयबाट सुरु भई सौराहा, बाघमारा हुँदै रत्ननगर-९ को टिकौली सिसै भिलेजमा पुगेर समापन भएको कार्यक्रम संयोजक बसन्त रानाले जानकारी दिए । साईकल यात्रामा एम टी बग भरतपुर, टाँडीका १ सय जना भन्दा धेरैकाे सहभािगता रहेकाे थियाे ।
विश्वव्यापी तथ्यांकअनुसार सडक दुर्घटना मृत्यु र अपाङ्गताको प्रमुख कारण बनेको छ। प्रत्येक वर्ष करिब १२ लाख मानिसको मृत्यु र ५ करोडभन्दा बढी घाइते हुने गरेका छन्। विशेषगरी १५ देखि २९ वर्ष उमेर समूहका युवाहरू दुर्घटनाको उच्च जोखिममा छन्। विश्वमा हुने सडक दुर्घटनामा मृत्यु हुनेमध्ये एक चौथाइभन्दा बढी पैदल यात्री र साईकल चालक रहेको तथ्यांक छ।
आठौं विश्वव्यापी सडक सुरक्षा सप्ताहले सरकार, अन्तर्राष्ट्रिय एजेन्सी, नागरिक समाज, व्यवसाय र विद्यालयहरूलाई पैदल यात्रा र साइकल चलाउन सुरक्षित बनाउन ठोस हस्तक्षेप र सचेतनामूलक कार्यक्रममार्फत राष्ट्रिय तथा स्थानीय स्तरमा कार्य गर्न प्रोत्साहित गरेको छ।
साेही अवसरमा सडक डिभिजन अन्तर्गत रत्ननगरकाे पूर्व पश्चिम हाईवे सरसफाई गर्ने ६ जना कर्मचारीहरूलाई दाेसल्ला ओढाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएकाेछ ।

साइकल यात्रा सुरु हुनुपूर्व रत्ननगर नगरपालिका कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा उपमेयर यादव प्रसाद पाठक प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरे, कार्यक्रम संयोजक बसन्त राना र सामुदायिक सुरक्षा मञ्च रत्ननगरका अध्यक्ष चन्द्रकान्त ओझालगायतले साइकल र पैदलयात्रीमैत्री सडक, पूर्वाधार र नीति निर्माणमा जोड दिए ।








