रत्ननगर, बैशाख ११ । रत्ननगर–५, झुवानीमा निःशुल्क प्रयोगशाला सेवासहित ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य जाँच गरिएको छ ।
रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरभित्रका सबै स्वास्थ्य संस्थामा रत्ननगर बकुलहर अस्पतालका डाक्टरहरुको उपस्थितिमा प्रयोगशाला सेवासहित ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको शाखाका सहसंयोजक वासुदेव सापकोटाले बताए ।
प्रयोगशाला सेवासहित ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य परीक्षणले अस्पतालसम्म जान नसकेकाहरुको लागि निकै फलदायी भएको सापकोटाले बताए ।
वडाभित्रका हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकहरुलाई घरघरमा पुगेर एम्बुलेन्समार्फत ल्याउने र लाने व्यवस्था मिलाएर स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराएको वडाध्यक्ष बालकृष्ण चापागाईंले बताए ।
स्वास्थ्यकेन्द्रमार्फत नियमित ल्याबसहितको स्वास्थ्यसेवा उपलब्ध भएको भन्दै त्यसको उपयोग गर्नसमेत वडाध्यक्ष चापागाईंले वडावासीहरुलाई आग्रह गरेका छन् ।
रत्ननगर–५ स्थित नगर स्वास्थ्यकेन्द्र टरौलीमा भएको स्वास्थ्य जाँच शिविरमा ६८ वर्षमाथिका १०५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरीएको स्वास्थ्यकेन्द्र प्रमुख गोविन्द शर्माले बताए । स्वास्थ परीक्षणसँगै आवश्यक औषधिसमेत वितरण गरिएको शर्माले बताए ।
शिविरमा वडा सदस्यहरु नाथुराम चौधरी, निलु शर्मा खतिवडा, ज्ञानु सुनार र राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।








