शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

सामूहिक च्याउखेतीमा रत्ननगर- १३ का गृहिणी महिला

Share:
118

होमनाथ सापकोटा, रत्ननगर । रत्ननगर वडा नं–१३, कञ्चनबस्तीकी पार्वती घिमिरे सधैँ घरको काममा सीमित थिइन् । बिहान उठेपछि भान्सा र गोठको काममा तल्लीन हुने घिमिरेको दैनिकी आजभोलि फेरिएको छ । उनी एकाबिहानै च्याउ टिप्न फार्ममा पुग्छिन् ।

घरको काम गर्दा उनको हातमा कहिल्यै पैसा परेन । गाउँका महिलाहरु मिलेर च्याउखेती गर्न थालेपछि उनले पैसाको मुख देख्न पाएकी छन् ।

घिमिरेजस्तै कञ्चनबस्तीका १० जना गृहिणी महिलाहरुले सामूहिकरुपमा सुरू गरेको च्याउखेतीले उनीहरुलाई आत्मनिर्भरताको बाटोमा डो¥याएको छ । थोरै लगानी गरेर सुरू गरेको च्याउखेतीबाट दोब्बर आम्दानी भएपछि उनीहरु उत्साहित भएका छन् । नमुना महिला विकास समूह गठन गरी उनीहरुले गत साउन महिनादेखि व्यावसायिकरुपमा च्याउखेती सुरू गरेका हुन् । नेपाल सरकारको निजामती सेवाबाट अवकाश प्राप्त स्थानीय जयन्ती रानाभाटले समूहको अगुवाइ गरेकी छन् । समूहमा करिब दुई सय महिला आबद्ध रहे पनि जाँगरिला १० जना महिलाहरु मिलेर च्याउखेती सुरू गरेका हुन् । च्याउखेतीका लागि रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानस्वरुप चार लाख रूपैयाँ उपलब्ध गराएको थियो । स्थानीय सरकारको चार लाख र महिलाहरुको छ लाख गरी १० लाखको लगानीमा उनीहरुले सामूहिक च्याउखेती सुरू गरेका हुन् ।

प्रतिव्यक्ति ५०र५० हजार उठाएर लगानी गरिएको समूहकी अध्यक्ष रानाभाटले जानकारी दिइन् । स्थानीय एक जना व्यक्तिको जग्गा भाडामा लिएर उनीहरुले १० वटा टनेल निर्माण गरेका छन् । गत भदौं ३ गते उनीहरुले डेढ किलो च्याउ टिपे । छ महिनाको अवघिमा उनीहरुले चार लट च्याउ निकालेका छन् । ‘छ महिनामा १५ लाख आम्दानी भयो’, अध्यक्ष रानाभाटले भनिन्, ‘लगानी उठाएर पनि केही पैसा बाँडफाँडसमेत गरिसकेका छौँ ।’ उनीहरुले च्याउ बिक्रीबाट भएको आम्दानीले फार्म व्यवस्थितसमेत बनाउँदै छन् । ‘लगानी उठिसकेको छ’, उनले भनिन्, ‘अब देखिने गरी आम्दानी गर्छौं ।’
लगानीको अनुपातमा अपेक्षाकृत आम्दानी हुन थालेपछि अझै १० वटा टनेल निर्माण गर्न योजनामा उनीहरु छन् । ‘अन्य खेतीको तुलनामा च्याउखेती गर्न सजिलो रहेछ’, उनले भनिन्, ‘राम्ररी स्याहारसुसार गर्न सके टनेलभित्र पैसाको थुप्रो रहेछ ।’ च्याउखेती सुरू गर्दा १० जना महिलालाई यससम्बन्धी कुनै पनि ज्ञान थिएन । ‘काम गर्दै सिक्दै गयौँ’, अध्यक्ष रानाभाटले भनिन्, ‘नजान्दानजान्दै पनि सफल भयौँ कि भन्ने लागेको छ ।’

सरकारी जागिरबाट अवकाश पाएपछि घरमा बस्न थालेकी रानाभाटले गाउँका महिलाहरु कामविहीन भएको देख्न सकिनन् । केही गर्ने योजना बनाएकी उनले आर्थिक अवस्था कमजोर भएका गाउँका गृहिणी महिलाहरुलाई साथमा लिएर च्याउखेती सुरू गरेको बताइन् । उनीहरुले उत्पादन गरेको च्याउ बिक्री गर्न टाढा जान पर्दैन । सुरूमा अटो भाडामा लिएर बस्ती–बस्तीमा च्याउ बेच्न हिँडेका उनीहरुले उत्पादन गरेको च्याउ अहिले भने टाँडीमा रहेको तरकारी बजारका व्यापारीले सजिलै खरिद गर्छन् ।

हाल भने च्याउको बजार मूल्य खस्किएको छ । तीन महिनाअघिसम्म प्रतिकिलो २५० मा बिक्री हुने च्याउ अहिले प्रतिकिलो ८० रूपैयाँमा बिक्री गर्नु परेको अध्यक्ष रानाभाटले बताइन् । अहिले १० वटा टनेलमा एक हजार पाँच सयवटा च्याउका पोका रहेका छन् । अहिले दैनिक ६० किलो बजार पठाउने गरिएको छ ।

‘बीउ हालेको २८ दिनमा च्याउ तयार हुन्छ’, समूहकी शान्ता खनालले भनिन्, ‘सुरू–सुरूमा दैनिक एक क्विन्टल निस्किन्थ्यो, अहिले ६० देखि ७० किलो उत्पादन हुन्छ ।’ अन्य खेतीको तुलनामा च्याउखेती निकै सजिलो रहेको भन्दै उनले अनुदान दिएको स्थानीय सरकारसँग च्याउखेती तालिम र प्राविधिक सहयोगका लागि आग्रह गरिन् ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।