चितवन, माघ २४ । चितवनको कालिका नगरपालिका वडा नं–४ मा सञ्चालन भएको मकैको सिलाम बनाउने तालिम बिहीवार समापन भएको छ ।
स्थानीय उत्पादन रोजगारी प्रवद्र्धन गर्ने लक्ष्यका साथ पाँचदिने मकैको सिलाम बनाउने तालिम सम्पन्न भएको हो ।
कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मी र उपप्रमुख बिमला तामाङले तालिममा सहभागीहरुलाई प्रमाण पत्र बितरण गर्नुभएको थियो । सोही अवसरमा तालिममा सहभागिहरुले आफुहरुले बनाएका मकै, भटमास र बदामका सिलामहरु अतिथिहरुलाई मायाको चिनाको रुपमा प्रदान गर्नुभएका थिए ।
कार्यक्रममा बोल्नुहुदै नगर प्रमुख रेग्मीले तालिम लिए पश्चात उद्यमशिलतामा जोडिन सबैलाई आग्रह गर्नुभयो । शिप सिकेर उद्यमिमा जोडीएर स्वस्थवद्र्धक खाजा बजारमा लैजान उहाँले तालिममा सहभागिहरुलाई आग्रह गर्नुभयो ।
उपप्रमुख विमला तामाङले नगरका महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने र स्वदेशी उत्पादन एंव मकैको उपयोगिता बढाउने उद्देश्यले सो तालिम सुरू गरिएको उहाँको भनाई छ । मकैको सिलाम बनाएर आफ्ना बालबच्चालाई खाजाको रुपमा दिन सकेमा पैसाको बचत हुनुका साथै बालबच्चा स्वस्थकर हुने बताउनुभयो ।
कालिका वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण पौडेलले सिप सिक्ने तर सिकेको सिपको उपयोग नगर्दा तालिमको कुनै औचित्य नरहेको भन्दै सिकेको सिपलाई व्यवसायिकतामा लान तालिममा सहभागिहरुलाई आग्रह गर्नुभयो ।
कालिका वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्यहरु चन्द्र कुमारी चौधरी, कृष्टि सुनार, बाबुराम शर्मा, सरोज कुमार चौधरी लगाएतको उपस्थिति रहेको थियो ।







