असार १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलघाँटीमा एक मालवाहक जहाजमाथि भएको आक्रमणबारे प्रतिक्रिया दिएका छन् ।
उनले ट्रुथ सोसलमा गरेको पोस्टमा इरानले होर्मुज जलमार्ग हुँदै गइरहेका जहाजहरूमाथि कम्तीमा चार वटा ड्रोन प्रहार गरेको दाबी गरेका छन् ।
ट्रम्पका अनुसार तीमध्ये एउटा ड्रोनले ठूलो तथा अत्यन्त महँगो मालवाहक जहाजको माथिल्लो भागमा प्रत्यक्ष प्रहार गरेको थियो ।
बेलायतको समुद्री सुरक्षा एजेन्सी यूके म्यारिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)का अनुसार बिहीबार ओमानको दहीत बन्दरगाहबाट करिब ७.५ समुद्री माइल दक्षिण–पूर्वमा रहेको एक मालवाहक जहाजमाथि अज्ञात प्रोजेक्टाइलबाट आक्रमण भएको थियो । यद्यपि घटनामा कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन ।
समुद्री सुरक्षा कम्पनी व्यानगार्डका अनुसार सिंगापुरको झण्डा बोकेको मालवाहक जहाज एभर लभ्ली आक्रमणपछि पनि सुरक्षित रूपमा होर्मुज जलमार्ग पार गर्न सफल भएको थियो र उसलाई कुनै बाह्य सहायता आवश्यक परेको थिएन ।
अमेरिका, इजरायल र इरानबीचको तनावका कारण फेब्रुअरीदेखि खाडी क्षेत्रमा सयौं जहाज तथा हजारौँ नाविक प्रभावित भएका छन् ।
होर्मुज जलमार्ग पुनः सञ्चालनमा आएपछि संयुक्त राष्ट्रसंघले मंगलबार उद्धार तथा निकासी अभियान सुरु गर्ने घोषणा गरेको थियो । तर बिहीबारको आक्रमणपछि अभियान अस्थायी रूपमा रोकिएको बताइएको छ । एजेन्सी







