रत्ननगर, माघ १५ । पूर्वी चितवनको रत्ननगरमा विहीबार देखि सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको रत्ननगर वडा नं ८ स्थित खेलमैदानमा नगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए ।
सो अबसरमा मेयर सापकोटाले विद्यार्थीमा अन्तरनिहीत क्षमता उजागर गर्न राष्ट्रपति रनिङशिल्ड आवश्यक रहेको बताए । कुनै समय पूर्वी चितवन लागु औषध दुव्र्यसनीको हब रहेको भन्दै मेयर सापकोटाले खेलकुदकै माध्यमबाट युवाहरुलाई कुलतमा फस्नबाट जोगाउन सकिएको बताए ।
खेलकुद राष्टका लागि मात्र नभइ मानव शरीरका लागि पनि उत्तीकै महत्वपूर्ण रहेको भन्दै उनले खेलकुदको विकासको लागि स्थानीय सरकारले प्राथमिकता दिएर काम गरिरहेको बताए ।
शिक्षा, स्वास्थ्य र खेलकुदलाई संगसंगै अगाडि बढाउदा कृषि र पर्यटनलाई समेत उत्तीकै महत्व दिएको उनको भनाई छ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष तथा वडा नं ८ का वडाध्यक्ष कृष्ण चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले राष्ट्रपति रनिङशिल्ड शिक्षा र स्वास्थ्यसंग जोडिएको नगरकै महत्वपूर्ण कार्यक्रम रहेको भन्दै यसले विद्यार्थीमा खेलकुद प्रतिको मोह बढाउने बताए ।
विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समावेश गराउदा उनीहरुको चौतर्फी विकासमा सहयोग हुने उनको भनाई छ ।
तीन दिन सम्म चल्ने सो प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ३१ विद्यालय सहभागी रहेको नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेले जानकारी दिए ।
कुल ३५० बढी विद्यार्थीहरुले ६ वटा खेलमा प्रतिस्पर्धा गर्ने उनको भनाई छ ।
कार्यक्रममा वडाध्यक्षहरु कुल प्रसाद सापकोटा, राजेन्द्र घिमिरे, सोहेन्द्रराज खरेल, रामकुमार चौधरी, बालकृष्ण चापागाईँ, किरण महतो, सजना महतो, कलाधर पौडेल, श्यामकुमार श्रेष्ठ, पोटबहादुर घिमिरे, होमनाथ रानाभाट, हेमराज थापा लगायत कार्यपालिका सदस्य सहभागी थिए ।








