रत्ननगर, पुस २९ । थारू संस्कृति जोगाउनका लागि खैरहनी नरपालिका- ५ स्थित गौचरनमा आज मंलवारबाट खिचरा महोत्सवको ११औँ संस्करण सुरू हुँदैछ । थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा रहेको महोत्सवको बागमती प्रदेशका मुख्य मन्त्री ईन्द्र वहादुर बानियाले उद्घाटन गर्नेछन् ।
पौष २९ गतेदेखि माघ १० गतेसम्म गौचरनमा हुने ११औँ महोत्सव उद्घाटनपूर्व खैरहनीमा शोभायात्रा निकालिने छ । मगनी चोकबाट सुरू हुने शोभायात्रामा २५० वटा संघसंस्था सहभागी हुनेछन् । आयोजक क्षेत्र नं ७ ले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
माघी पर्वका अवसर पारेर थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
२०७० सालदेखि प्रत्येक वर्ष माघ १ गते पर्ने माघी पर्वको पावन अवसरमा खिचरा महोत्सव हुँदै आएको छ ।
महोत्सव मूल समारोह समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार महोत्सव सम्पन्न गर्न तीन सय सय ५१ सदस्यीय मूल आयोजक समिति र १५ विभिन्न उपसमिति गठन गरिएको छ ।
‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा एक सय ५० स्टल रहनेछन् ।
त्यसमध्ये थारु जाति लगायत विभिन्न जातिका खानाका परिकारहरु बिक्री वितरणका लागि २४ वटा स्टल रहने चौधरीले जानकारी दिनुभयो । महोत्सवमा थारु आर्ट ग्यालरी, बौद्धनाथ गुम्बा तथा ओपेरा हाउस निर्माण समेत गरिएकोछ ।
महोत्सवलाई चितवनबासी थारू समुदायले मात्र नभई सम्पूर्ण जातजातिले गर्वका रुपमा लिने गरेको चौधरीले बताउनुभयो । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवद्र्धन एवं शैक्षिक, वित्तीय संस्था र विभिन्न संघसंस्थाका स्टल हरु रहनेछन् ।
माघ १ गते बाहेक हरेक दिन दिउँसो १ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था समेत आयोजकले मिलाएको छ । त्यसपश्चात प्रवेश शुल्क सय रुपैयाँ तोकिएको छ । जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश टिकटको व्यवस्था रहेको कार्यक्रममा विद्यार्थीका लागि ७० रुपैयाँ तोकिएको छ ।








