रत्ननगर, पुस १३ । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदैछ ।
महोत्सवको प्रभावले पछिल्ला दुई दिन सौराहाका होटलहरू पूर्णरूपमा भरिभराउ भएका छन् भने पर्यटकीय क्षेत्र निकै चहलपहलयुक्त बनेको छ ।
महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुङ्गा दौड प्रतियोगिता, पेनाल्टी सुटआउटलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू सम्पन्न भएका छन् । साथै स्वदेशी तथा विदेशी पर्यटकको मागलाई ध्यानमा राख्दै विश्वप्रसिद्ध हात्ती पोलोको झल्को पनि शनिबार महोत्सव स्थल बाघमारा चौरमा प्रस्तुत गरिएको थियो ।
महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार हात्ती पोलोका केही सामग्री उपलब्ध भएकाले पर्यटकहरूको माग र उत्साह बढाउन खेलको झल्को प्रस्तुत गरिएको हो । “खेल पूर्णरूपमा सञ्चालन हुन नसके पनि यसको झल्को देखाउँदा दर्शक तथा पर्यटक निकै उत्साहित भए”, उनले भने ।
संयोजक थपलियाले महोत्सवको अन्तिम दिन आज हात्ती पूजन गरिने जानकारी दिँदै हात्तीलाई भगवानको रूपमा मानी पूजा गर्न लागिएको बताए । साथै आज हात्तीका लागि विशेष बनभोजको आयोजना गरिएको छ । “यसपटक हात्तीको वनभोज बफेट शैलीमा हुनेछ । हात्तीलाई मनपर्ने परिकारहरू राखिनेछन्, जसबाट हात्तीले आफूलाई मन लागेको जति खान पाउनेछन् । यसले हात्तीलाई रमाइलो महसुस गराउँछ,” उनले भने ।
हात्तीमाथि यातना गरिएको भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै उनले हात्ती पनि पीडा र खुसी महसुस गर्ने संवेदनशील जीव भएको उल्लेख गरे। “हात्तीलाई कसरी पीडा हुन्छ र कसरी खुसी हुन्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । महोत्सवमा हामीले कुनै पनि प्रकारका यातनाजन्य गतिविधि गरेका छैनौँ,” उनले स्पष्ट पारे ।
सौराहास्थित बाघमारा चौरमा आयोजित महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सह–आयोजकका रूपमा रहेका छन् । महोत्सवका विभिन्न गतिविधिमा सरकारी तथा निजी क्षेत्रका गरी करिब ८० वटा हात्ती सहभागी भएका छन् । आयोजक संस्थाले हरेक वर्ष यही समयमा महोत्सव आयोजना गर्दै आएको छ ।








