बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

कालिका नगरभित्रका उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी देखि खेलाडी एउटै मञ्चमा सम्मानित

Share:
253

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकाले नगरभित्रका उत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालय, उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल नगरभित्रका खेलाडीलाई बिहीबार सम्मान गरेको छ ।

नगरको शैक्षिक विकासका लागि दिवा खाना कार्यक्रमलाई प्रभावकारी, भौतिक पूर्वाधार निर्माण र शिक्षण सिकाइलाई मजबुत बनाउँदै लगेको सो नगरपालिकाले विद्यार्थी र शिक्षकलाई समेत हौसला प्रदान गर्न विद्यार्थी र विद्यालयलाई एउटै मञ्चमा सम्मान गरेको हो ।

उत्कृष्टता हासिल गरेका विद्यार्थी र राम्रो नतिजा दिन सफल विद्यालयलाई सम्मान गर्दा शैक्षिक विकासमा थप टेवा पुग्ने विश्वासका साथ विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको मेयर रेग्मीले बताए । शिक्षाबाट नै समृद्ध कालिका बनाउने लक्ष्य पूरा गर्ने भन्दै मेयर रेग्मीले शिक्षालाई प्राथमिकतामा राखेर काम भइरहेको बताए । ‘शिक्षण सिकाइ प्रभावकारी नहुँदासम्म नतिजा राम्रो आउँदैन’, उनले भने, ‘विद्यार्थी र शिक्षकलाई हौसला प्रदान गरेर शिक्षण सिकाइलाई मजबुत बनाउने योजना छ ।’

सो नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा उत्कृष्ट अङ्क ल्याउने सामुदायिक विद्यालयतर्फ ९ जना र संस्थागत विद्यालयतर्फ ६ जना गरी १५ जना विद्यार्थी, पाँचवटा विद्यालय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल नगरभित्रका ३१ जना खेलाडीलाई सम्मान गरिएको नगर शिक्षा अधिकारी चन्द्रा शर्माले जानकारी दिइन् । विद्यार्थी र खेलाडीलाई जनही नगद पाँच हजार रूपैयाँ पुरस्कारसहित सम्मान गरिएको उनले बताइन् ।

कक्षा ८, १० र १२ को परीक्षामा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण दरका आधारमा भिमोदय नमुना मावि, सिराई सनराइज इङ्ग्लिस बोर्डिङ स्कुल, राष्ट्रिय मावि समिपुर, सिद्धिविनायक मावि र पृथ्वी माविलाई सम्मान गरिएको हो । त्यसैगरी, कालिका नगरपालिकामा समावेशी शिक्षा सञ्चालनका लागि सहकार्य गरेका ह्याण्डीक्याप इन्टरनेसनल, अटिजम केयर चितवन सोसाइटी, राष्ट्रिय बहिरा महासंघ र सेन्स इन्टरनेसनलाई समेत संस्थागतरुपमा सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुखअतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, मेयर विनोद रेग्मी, उपमेयर विमला तामाङ, संस्थापक मेयर खुमनारायण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागार्इंले विद्यालय, विद्यार्थी र खेलाडीहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले शिक्षाको जगमा टेकेर नगरलाई विकासको गतिमा लैजान सहज हुने बताए । विकासको प्रमुख सूचक शिक्षा रहेको भन्दै शिक्षालाई आधार बनाएर समृद्ध नगर निर्माण गर्न सकिने उनले बताए ।

संस्थापक मेयर श्रेष्ठले विकटमा रहेका विद्यालयहरुमा समेत शिक्षण सिकाइलाई प्रभावकारी बनाएर ठूला विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने गरी विकास गर्न सुझाव दिए । ‘चेपाङका बालबालिका पढ्ने विद्यालयलाई राम्रो बनाउनुस्’, उनले भने, ‘तबमात्र काम गरेको देखिन्छ ।’

उपमेयर तामाङले संविधान दिवसको अवसर पारेर गर्ने भनिएको विद्यार्थी सम्मान कार्यक्रम जेनजी आन्दोलनका कारण ढिलो हुन गई बालदिवसको अवसर पारेर आयोजना गरिएको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत चौलागाईले शिक्षामार्फत नगरको सामाजिक र आर्थिक उपलब्धि हासिल गर्ने गरी नगरपालिका प्रयत्नशील रहेको बताए ।

नगर प्रवक्ता लक्ष्मण पौडेल, सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठले नगरको शैक्षिक विकासका लागि शिक्षण सिकाइलाई प्रभावकारी बनाउँदै लगानी बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

कार्यक्रममा निवर्तमान वडाध्यक्ष कृष्णकुमार श्रेष्ठ, न्यू सगरमाथा बोर्डिङका प्राचार्य ईश्वर तिवारी, भिमोदय माविका प्राचार्य इन्द्रनाथ पौडेल, पृथ्वी माविका अध्यक्ष अमृत लामिछाने, राष्ट्रिय मावि समिपुरका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझी, अभिभावक मुन्ना जी गुप्ता, विद्यार्थीहरु आराधना कुमारी गुप्ता, मनीष श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

कालिका नगरपालिकामा ३३ वटा समुदायिक र ११ वटा संस्थागत विद्यालयमा १२ हजार ८०० विद्यार्थीहरु अध्ययन गर्छन् । सो नगरपालिकामा समावेशी शिक्षा पनि प्रभावकारीरुपमा अगाडि बढिरहेको छ । कार्यक्रम नगर शिक्षा अधिकारी शर्माले सञ्चालन गरेकी थिइन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।