रत्ननगर, साउन ९ । लुभर होटल्स ग्रुपअन्तर्गत केटिएम हस्पिटालिटीद्वारा सञ्चालित पाँचतारे लक्जरी रिसोर्ट, रोयल ट्युलिप सौराहाले आफ्नो नयाँ रेस्टुरेन्ट ‘माझीघर’ सञ्चालनमा ल्याएको छ। चौबिसै घण्टा सञ्चालन हुने यो रेस्टुरेन्टले सौराहाको भोजन र आतिथ्य क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ।
माझी र थारु समुदायको सांस्कृतिक समृद्धिबाट प्रेरित ‘माझीघर’ले न्यानो वातावरणमा स्थानीय स्वाद र अन्तर्राष्ट्रिय परिकारहरूको संयोजन प्रदान गर्ने केटिएम हस्पिटालिटीका अध्यक्ष रामेश्वर शाहले बताए। उनले विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित यो रिसोर्ट चितवनको पहिलो पाँचतारे सुविधासम्पन्न रिसोर्ट भएको जानकारी दिए।
शाहका अनुसार १ अर्ब ७५ करोड लगानी रहेको रिसोर्टमा ६५ वटा आकर्षक कोठा र भिल्लाहरू छन्, जसमा पुल भिल्ला, वाटर भिल्ला र मचान सुइटहरू समावेश छन्। न्यूनतम १७ हजार ५०० रुपैयाँदेखि १ लाखसम्मका कोठा उपलब्ध रिसोर्टले प्रकृतिको मनमोहक दृश्य र विलासी सुविधा प्रदान गर्ने शाहले दाबी गरे। रिसोर्टमा स्पा, फिटनेस सेन्टर, पौडी पोखरी, फरेस्ट फ्लेम, मचान (घुम्ने डेक) र तनावी स्पोट्र्स बारजस्ता विश्वस्तरीय सुविधाहरू उपलब्ध छन्।
शाहले भने, “अहिले हामीले रेस्टुरेन्टको मात्र सफ्ट शुभारम्भ गरेका छौं। यही असोजदेखि होटलको भव्य उद्घाटनसहित सञ्चालन गर्ने तयारीमा छौं।“

सन् २०२४ मा नेपाल भ्रमण गर्ने करिब १२ लाख अन्तर्राष्ट्रिय पर्यटक र सौराहामा वार्षिक ३ लाख पर्यटक आउने तथ्याङ्कलाई मध्यनजर गर्दै, रोयल टुलिप चितवनले पर्यटनमा नयाँ आयाम थप्ने र विलासिताको नयाँ स्तर स्थापित गर्ने आकाङ्क्क्षा राखेको छ।
अध्यक्ष शाहले भने, “रोयल ट्युलिप चितवन प्रकृतिको सुन्दरता र सांस्कृतिक समृद्धिको सङ्गम हो। यो रिसोर्टले स्थानीय पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र चितवनमा विलासिताको नयाँ मापदण्ड स्थापित गर्नेछ।”
रिसोर्टका महाप्रबन्धक सचिन शर्माले पाहुनाहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।
दिगो विकासप्रति समर्पित, रिसोर्टले इन–हाउस वाटर बोटलिङ प्लान्ट र स्थानीय सामग्रीको प्रयोगजस्ता पहलमार्फत १०० भन्दा बढी स्थानीय रोजगारी सिर्जना गर्नेछ। रोयल ट्युलिप चितवनले नेपाल र विश्वभरका पर्यटकलाई व्यक्तिगत सेवा र विलासी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।








