रत्ननगर, जेठ १३। रत्ननगरको माधवपुरमा जारी दोश्रो माधवपुर गोल्डकप २०८२ को सेमिफाईनल समीकरण पुरा भएको छ । मंगलबार प्याराडाइज फुटबल क्लब सिसुवारलाई ४-३ ले पराजित गर्दै न्यु पञ्चदिप युवा क्लब सालघारी सेमिफाईनल प्रवेश गरेसंगै प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा भएको हो।
माधवपुर खेलमैदानमा मंगलबार भएको प्रतियोगिताको चौथो खेलको निर्धारित समयमा दुवै टिम बाट कुनै गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकिलिएको थियो । ट्राईब्रेकरमा न्यु पञ्चदिप युवा क्लब सालघारीले प्याराडाइज फुटबल क्लब सिसुवारलाई ४-३ ले पराजित गरेको हो । त्यसअघि दुबै पक्षबाट भएका केही गोलका प्रयास खेर गएका थिए ।
खेलको ‘म्यान अफ द म्याच’ न्यु पञ्चदिप युवा क्लबका गोलकिपर विराज स्याङतान घोषित भए। उनको उत्कृष्ट प्रदर्शनले टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।
प्रतियोगितामा यसअघि हेटौडा फुटबल एकेडेमी, अभिषेक चर्च रजहर र ससस्त्र प्रहरी बल सेमिफाईनलमा प्रवेश गरिसकेका छन् । बुधबार हुने पहिलो सेमिफाईनलमा हेटौडा फुटबल एकेडेमी र अभिषेक चर्च रजहर भिड्दै छन् ।
प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई विशेष मेडल प्रदान गरिनेछ। जेठ १७ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा एक्स्पर्ट एजुकेसन एण्ड भिषा सर्भिसेज मुख्य प्रायोजक रहेको छ ।








