रत्ननगर, जेठ २ । “साईकल यात्री र पैदल यात्रीलाई प्राथमिकता राखौं, सडक सुरक्षा र गुणस्तरीय स्वास्थ्य निर्माणमा सबै जुटेर लागौं ” भन्ने मूल नारासहित आठौं संयुक्त राष्ट्रसंघीय विश्वव्यापी सडक सुरक्षा सप्ताह चलिरहेको समयमा चितवनको कालिकामा “सडक सुरक्षा हामी सबैको प्राथमिकता” सम्बन्धी प्रशिक्षण दिईएको छ ।
सामुदायिक सडक सुरक्षा मञ्च कालिकाको आयोजनामा महिला सञ्जाल भवनमा प्रशिक्षण दिईएको हो । शुक्रवार कालिका नगरका बाल क्लव, सामुदायिक मा.वि तहका विद्यार्थी, स्काउटका विद्यार्थी, रेडक्रसका प्रतिनिधि, विभिन्न विद्यालयका चालक र सहचालक, अटो र म्याजिक व्यवसायी समितिका प्रतिनिधि लगाएतलाई प्रशिक्षण दिईएको छ ।
सहभागीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरिक्षक भुपेन्द्र बहादुर विष्टले प्रशिक्षण दिएका थिए ।

विश्वव्यापी तथ्यांकअनुसार सडक दुर्घटना मृत्यु र अपाङ्गताको प्रमुख कारण बनेको छ । प्रत्येक वर्ष करिब १२ लाख मानिसको मृत्यु र ५ करोडभन्दा बढी घाइते हुने गरेका छन् । विशेषगरी १५ देखि २९ वर्ष उमेर समूहका युवाहरू दुर्घटनाको उच्च जोखिममा छन् । विश्वमा हुने सडक दुर्घटनामा मृत्यु हुनेमध्ये एक चौथाइभन्दा बढी पैदल यात्री र साईकल चालक रहेको तथ्यांक छ ।
आठौं विश्वव्यापी सडक सुरक्षा सप्ताहले सरकार, अन्तर्राष्ट्रिय एजेन्सी, नागरिक समाज, व्यवसाय र विद्यालयहरूलाई पैदल यात्रा र साइकल चलाउन सुरक्षित बनाउन ठोस हस्तक्षेप र सचेतनामूलक कार्यक्रममार्फत राष्ट्रिय तथा स्थानीय स्तरमा कार्य गर्न प्रोत्साहित गरेको छ ।
सामुदायिक सडक सुरक्षा मञ्च कालिकाका अध्यक्ष रवि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि र नगर उपप्रमुख विमला तामाङ बिशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा कालिका ४ देखि ९ सम्मका वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारी, योजना शाखा प्रमुख प्रकाश चन्द्र पौडेल, प्रहरी चौकी पदमपुरका प्रमुख, प्रहरी चौकी जुटपानीका प्रतिनिधि, खोलेसिमल बिटका प्रहरीका प्रतिनिधि, बजार व्यवस्थापनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।










