शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

रत्ननगरमा ‘टोल टोलमा घटना दर्ता सचेतना कार्यक्रम’ सुरु

Share:
374

रत्ननगर, बैशाख २५ । रत्ननगर नगरपालिकाले सतप्रतिशत घटना दर्ता अभियानलाई प्रभावकारी बनाउन विपन्न तथा सिमान्तकृत समुदायलाई लक्षित गरी ‘टोल टोलमा घटना दर्ता सचेतना कार्यक्रम’ बिहीबारबाट सुरु गरेको छ। अभियानको सुरुवात वडा नम्बर १४ मा रहेका दक्षिणकाली, मिलिजुली र अभियान टोलविकास संस्थाहरूको विपन्न बस्तीबाट गरिएको छ।

नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख राम प्रसाद बस्ताकोटीका अनुसार पहिलो दिनको कार्यक्रममा स्थानीय बासिन्दालाई जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता व्यक्तिगत घटना दर्ताको महत्त्व र प्रक्रियाबारे विस्तृत जानकारी दिइएको थियो। बस्ताकोटीले भने, ‘कानुनी पहिचान र राज्यबाट प्रवाह हुने सेवासुविधा प्राप्त गर्न घटना दर्ता अनिवार्य छ, तर सचेतना र पहुँचको अभावमा धेरैजना यो सुविधाबाट वञ्चित छन्। यो अभियानले विपन्न र सिमान्तकृत समुदायमा घटना दर्तालाई सहज र पहुँचयोग्य बनाउन जोड दिनेछ।’

कार्यक्रममा १० जनाको समस्या पहिचान गरी तिनको समाधानका लागि आवश्यक विकल्प प्रदान गरिएको बस्ताकोटीले जानकारी दिए । यो अभियानले विशेषगरी कानुनी पहिचान र राज्यबाट प्राप्त हुने विभिन्न सेवासुविधा सुनिश्चित गर्न घटना दर्ता प्रक्रियालाई सरल र पहुँचयोग्य बनाउने उद्देश्य राखेको उनले बताए ।

कार्यक्रममा बोल्दै वडा नम्बर १४ का वडाध्यक्ष होमनाथ रानाभाटले सबै वडावासीलाई घटना भएको ३५ दिनभित्र अनिवार्य रूपमा दर्ता गराउन आग्रह गरे। उनले भने, ‘घटना दर्ता नगर्दा राज्यबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ। छुटेका वडावासीलाई वडा कार्यालयमा आएर दर्ता प्रक्रिया पूरा गर्न अनुरोध गर्छु।’ उनले यो अभियानले स्थानीय समुदायमा सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नगरपालिकाले वडा नम्बर १४ पछि वडा नम्बर ५, ९, ११ र १५ का विपन्न टोल र बस्तीहरूमा पनि यो सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। जेठ २० गतेसम्म यी वडाहरूमा सम्बन्धित टोलविकास संस्थाहरूसँग समन्वय गरी स्थानीयको सहभागितामा कार्यक्रम आयोजना गरिने जनाइएको छ। नगरपालिकाले अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय नेतृत्व र समुदायसँगको सहकार्यलाई प्राथमिकता दिने बताएको छ ।

कार्यक्रममा कार्यपालिका सदस्य सानु भण्डारी, वडा सदस्यहरू धिरेन्द्र प्रसाद घिमिरे र रमेश थापामगर, दक्षिणकाली टोलका अध्यक्ष विनोद तामाङ, अभियान टोलका अध्यक्ष हनुमान बिक, मिलिजुली टोलका अध्यक्ष सोम बहादुर तामाङलगायतको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन वडा सचिव बासुदेव रिजालले गरेका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।