सञ्जय चौधरी, चितवन । डिजिटल शिक्षण सिकाईमा सहज पुर्यााउने उद्देश्यले चितवनको कालिका नगरपालिकाले पहाडी भेगका विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेकोछ ।
आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट सामुदायिक विद्यालयहरुमा कम्प्युटर र प्रिन्टरको अभावमा डिजिटल शिक्षण सिकाईमा समस्या भईरहेको समयमा सहजकिरणका कालिका ९, १० र ११ का १३ वटा विद्यालयलाई १/१ थान गरी १३ थान कम्प्युटर हस्तान्तरण गरिएको हो ।
श्री राष्ट्रिय आधारभूत विद्यालय दौतेस कालिका-११, श्री राष्ट्रिय आधारभूत विद्यालय छेरेवाङ कालिका-१०, श्री महाकाली आधारभूत विद्यालय कोलार कालिका- ९, कालिका आधारभूत विद्यालय निबुवाटार कालिका-१०, श्री आधारभूत विद्यालय लोतन्ति कालिका-१०, श्री दक्षिणकाली आधारभूत विद्यालय बाङखोला कालिका-११, श्री राष्ट्रिय आधारभूत विद्यालय लटौली कालिका-११, श्री चित्राम राष्ट्रिय आधारभूत विद्यालय मेक्छेकोङ कालिका-११, श्री राष्ट्रिय आधारभूत विद्यालय देउजर कालिका-११, श्री राष्ट्रिय आधारभूत विद्यालय सुपार कालिका-९, श्री शुभशान्ति राष्ट्रिय आधारभूत विद्यालय सैपाम कालिका-११ र श्री राष्ट्रिय आधारभूत विद्यालय कल्याणचौर कालिका-११ लाई १/१ थान कम्प्युटर हस्तान्तरण गरिएको नगर प्रमुख रेग्मीले जानकारी दिए । बाँकी रहेको १ वटा विद्यालयलाई केही समयपछि कम्प्युटर हस्तान्तरण गरिने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले बालबालिका भोलिको राष्ट्र निर्माणका लागि मानव पुँजी भएकाले विद्यालय पुर्याउनु मात्र दायित्व होइन, विद्यालयलाई उपयुक्त शिक्षा दिलाउन सक्ने व्यवस्थापन गर्ने दायित्व सबैको रहेको बताए ।
अहिलेको बिषम परिस्थितिमा विद्यार्थीहरुलाई प्रविधियुक्त दूर शिक्षा आवश्यक रहेकोले नगरले कम्प्युटर हस्तान्तरणमार्फत सहयोगको सुरुवात गरेको बताए । आगामी दिनमा पनि विद्यार्थी वा विद्यालयको हितमा निरन्तर काम गर्ने उनको भनाई छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, वडा नं. ३ का वडा अध्यक्ष विरेन्द्र तामाङ, वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवाल, प्रशासन शाखा प्रमुख राम प्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्राधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
शिक्षा युवा तथा खेलकुद शाखाकी शाखा अधिकृत चन्द्रा देवी शर्माले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।








