चितवन, साउन ११ । सडक डिभिजन भरतपुरले निर्माण कार्य अलपत्र पार्ने मकवानपुरको शिवशक्ति इन्फ्रा डेभलपर्स प्रालिको ठेक्का तोडेको छ।
सम्झौता अनुसार म्यादभित्रै काम सम्पन्न नगरेको र लामो समयदेखि निर्माण स्थल अलपत्र पारेको भन्दै कार्यालयले ठेक्का अन्त्य गरेको हो।
सोमबार एक सार्वजनिक सूचना निकालेर डिभिजनले ठेक्का सम्झौता तोडिएको जानकारी दिएको छ। उक्त कम्पनीले चितवनको पूर्व(पश्चिम राजमार्ग (एमआरएम) अन्तर्गत लोथरदेखि टिकौलीसम्मको सडक मर्मत तथा ओभरले गर्ने ठेक्का जिम्मा लिएको थियो। सम्झौता अनुसार काम सक्न कार्यालयले लिखित तथा मौखिक रूपमा पटक(पटक अनुरोध गर्दा पनि कम्पनीले आफ्नो दायित्व पूरा नगरेको सूचनामा उल्लेख छ।
यसअघि २०७९ पुस २० गते सडक डिभिजनले ठेक्का किन अन्त्य नगर्ने भन्दै तीन दिने स्पष्टीकरण सोधेको थियो। निर्धारित अवधिमा निर्माण व्यवसायीबाट सन्तोषजनक जवाफ नआएको कार्यालयको भनाइ छ। निर्माण व्यवसायी स्वयंबाटै ठेक्का सम्पन्न नहुने परिस्थिति सिर्जना भएको निष्कर्ष निकाल्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा २ र ७ बमोजिम साउन ८ गतेको निर्णयअनुसार ठेक्का तोडिएको हो।
ठेक्का अन्त्य भएसँगै कानुन बमोजिम कम्पनीलाई थप कारबाहीको प्रक्रिया अगाडि बढाइने सडक डिभिजनले स्पष्ट पारेको छ। कार्यालयले जारी गरेको सूचनामा ‘स्वीकार्य रूपमा सम्पन्न भइसकेका कुनै कार्य भएमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयमा उपस्थित भई वित्तीय फरफारक गर्न’ निर्देशन दिइएको छ।
तोकिएको समयभित्र निर्माण व्यवसायी वा प्रतिनिधि कार्यालयमा उपस्थित नभएमा डिभिजन आफैँले कानुन अनुसार वित्तीय फरफारकको काम अघि बढाउने चेतावनी समेत दिइएको छ।








