रत्ननगर । रत्ननगर नगरपालिकाले नगरप्रमुख प्रलाद सापकोटाको निर्देशनमा कर्मचारीहरुको छड्के हाजिरी अनुगमन गरेको छ ।
सार्वजनिक सुनुवाइका क्रममा तथा नगरपालिकामा आएका सेवाग्राहीहरुले कर्मचारीहरु कार्यालय समयमा अनुपस्थित हुने गरेको गुनासो गरेपछि जनगुनासो सम्बोधन गरी कर्मचारीहरुलाई आफूले प्रदान गर्ने सेवा प्रवाहलाई चुस्त बनाउन नगरप्रमुख सापकोटाले सोमबार कर्मचारीहरुको हाजिरी अनुगमन गर्न निर्देशन दिएका हुन् ।
प्रशासन शाखा प्रमुख, नगर प्रहरी प्रमुख र प्रेस संयोजकसहितको अनुगमन टोलीले सोमबार बिहान ९ः३० देखि १०ः३० बजेसम्म कर्मचारीहरुको हाजिरी निगरानी गरेको थियो । सो क्रममा कार्यालय समयभन्दा पछाडि उपस्थित हुने कर्मचारी १९ जना भेटिएका थिए । जसमा अधिकांश विषयगत शाखाका प्रमुखलगायत कर्मचारी रहेका छन् ।
कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीहरुको तस्बिर र भिडियोसहित अनुगमन टोलीले नगरप्रमुखसमक्ष पेस गरेको थियो । सोमबार कार्यालय समयभन्दा पछि उपस्थित हुने कर्मचारीहरुको हाजिरी पुस्तिकामा अनुपस्थित जनाउन नगरप्रमुखको निर्देशनअनुसार एकपटकका लागि सो कारबाही गरी कर्मचारीहरुलाई समयभित्र हाजिर हुन निर्देशन दिइएको प्रशासन शाखा प्रमुख सविता अर्यालले बताइन् ।
अनुगमनका क्रममा ३५ जनाभन्दा बढी कर्मचारीले नगरपालिकाले तोकेबमोजिम पोसाक र परिचयपत्र नलगाएको भेटिएका थिए । कार्यालय आउन किन ढिलो गर्नुभएको भन्ने प्रश्नमा कर्मचारीहरुले कार्यालयकै कामको सिलसिलामा ढिलाइ भएको, सवारीसाधन बिग्रिएको, बाटोमा अन्य काममा रोकिएकोजस्ता जवाफ दिएका थिए ।
रत्ननगर नगरपालिकामा २१ वटा विषयगत शाखाअन्तर्गत ९६ जना स्थायी, ११२ जना करार र १५ जना ज्यालादारी गरी कुल २२३ कर्मचारी सेवारत छन् । चितवन पाेष्टबाट







