रत्ननगर, साउन २ । साैराहामा रहेकाे सपना भिलेज सोसियल इम्प्याक्टले रत्ननगर–१२ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै पोषणयुक्त खाजा कार्यक्रम सञ्चालन गर्न विद्यालय प्रशासनसँग औपचारिक रूपमा सम्झौता गरेको छ।
यस विद्यालयमा मुख्य रूपमा सीमान्तकृत र विपन्न समुदायका बालबालिका अध्ययनरत छन्, जो नियमित रूपमा पर्याप्त पोषणयुक्त भोजन प्राप्त गर्नबाट बञ्चित छन्।
पोषणको अभावले विद्यार्थीहरूको शारीरिक वृद्धि, बौद्धिक विकास, र पठन क्षमतामा प्रतिकूल प्रभाव पारिरहेको पृष्ठभूमिमा यो कार्यक्रम थालिएको हो।

सरकारद्वारा विद्यालयलाई प्रति विद्यार्थी रु १५ उपलब्ध गराइए तापनि, उक्त रकम मात्रले गुणस्तरीय पोषणयुक्त खाजा उपलब्ध गराउन अपर्याप्त हुने देखिएकोले सपना भिलेज सोसियल इम्प्याक्टले थप आवश्यक रकम सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

विद्यार्थीहरूलाई स्वस्थ, सन्तुलित र स्वादिष्ट भोजन प्राप्त होस् भन्ने उद्देश्यले पोषण विज्ञहरूको परामर्शमा तयार गरिएको विशेष मेनु लागू गरिएको छ। यस मेनुले दैनिक रूपमा आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन, र खनिज तत्वहरू सुनिश्चित गर्दछ, जसले विद्यार्थीहरूको समग्र स्वास्थ्य सुधार र अध्ययनमा रुचि वृद्धि गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ।
यस कार्यक्रमले शिक्षा र स्वास्थ्यको अभिन्न सम्बन्धलाई सम्बोधन गर्दै समावेशी र दिगो विकासतर्फ एक सकारात्मक पाइला अगाडि बढाएको छ।







