रत्ननगर, जेठ २७ । चितवनको कालिका- २ मा आधारभुत सिलाई कटाई तालिम सम्पन्न भएको छ ।
कालिका नगरपालिकाको आयोजनामा गरिवसंग विश्वेश्वर कार्यक्रम अन्र्तगत एक महिने सिलाई कटाई तालिम कालिका नगरपालिका सिकाई केन्द्र कालिका- २ मा मंगलवार सम्पन्न भएको हो ।
महिलाहरुले सीप सिक्दै सिकाउँदै व्यवसायिक बन्दै कमाउँ भन्ने उदेश्यले तालिम सञ्चालन गरिएको कालिका नगरपालिकाकी उद्यम बिकास सहज कर्ता शर्मिला बस्यालले जानकारी दिईन् । आधारभूत सिलाई कटाई तालिममा १२ जनाको सहभागिता रहेको थियो । तालिममा ईन्द्रमाया श्रेष्ठले प्रशिक्षण दिएकी थिइन् ।
सोही अवसरमा ८ जना प्रशिक्षार्थीहरुलाई ८० प्रतिशत अनुदानमा सिलाई कटाई मेसिन हस्तान्तरण गरिएको बस्यालले बताईन् ।
यसभन्दा अगाडि गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम (मेड्पा) अन्तर्गत कालिका वडा नं. १ मा एड्भान्स सिलाई कटाईमा २१ जना, वडा नं ७ मा ४५ दिने आधारभुत सिलाई कटाईमा २४ जना (२३ वटा मेसिन ७५ प्रतिशत अनुदानमा) बाँडेको र महिला सञ्जाल भवनमा ४५ दिने ब्युटीपार्लर तालिममा २४ जनाको सहभागिता रहेर सम्पन्न भईसकेको छ । वडा नं. ७ को सिलाई कटाई र महिला संजालको ब्युटीपार्लर तालिम उद्यमशिलता तालिमबाट सहभागीहरूले आफैले छनौट गरेको उनले बताईन् ।
कालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले सिलाई कटाइ तालिम जीवन उपयोगी हुने भएकोले एक महिनासम्म लगनशीलताका साथ सिकिएको सिपलाई सहि सदुपयोग गर्न सहभागिहरुलाई आग्रह गरे ।
मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके जीवनमा परिवर्तन हुने नगर प्रमुखको भनाई छ । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने नगर प्रमुख रेग्मीले बताए ।
सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम सञ्चालन गरिने बताउँदै तालिम लिए पश्चात् महिला दिदीबहिनीहरु स्वरोजगार र आत्म निर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पुर्याउने उनको भनाईछ ।
वडा नं. २ का वडा अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, समाजिक विकास समितिका संयोजक तथा कालिका वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, वडा नं. २ का वडा सदस्य चित्र वहादुर भण्डारी, शान्ति महतो लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रम सञ्चालन कालिकाका शाखा अधिकृत प्रकाश चन्द्र पौडेलले गरेका थिए ।







