सोम, जेष्ठ ११, २०८३
Search
सोम, जेष्ठ ११, २०८३

महाकालीको माछा बेचेर जीविका चलाउँदै इन्दु

Share:
325

कञ्चनपुर, जेठ १९ । भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउँछिन्। महाकालीबाट माछा मारेर बिक्री गरी उनको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएकी छन् ।

माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको बताइन्। उनले दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्छिन्। त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर उनले बिक्री गर्छिन्।

‘ताजा माछाको माग बढी हुन्छ,’ राईले भनिन्, ‘ग्राहकलाई पुर्‍याउनै सक्दैनौँ ।’

सानो माछा प्रतिकिलो २५० र ठूलो माछा रु ३०० मा बिक्री हुन्छ । उनको माछा मार्ने तरिका भने भिन्दै छ । खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अलिकति पीठो राख्छिन् । माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राख्छिन् । नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न अप्ठेरो हुने गरेको उनको भनाइ छ ।

माछा बिक्री गरेर महिनामा रु ३० हजारदेखि रु ३५ हजारसम्म कमाई हुने गरेको राईले बताइन् । उनीसँग घर छ तर खेतीपाती गर्न जग्गा छैन । अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको विद्यालयको खर्चलगायत आवश्यकता उहाँले माछा बिक्री गरेको आम्दानीले धान्ने गरेकी छन् । माछा मार्न उनी समूह बनाएर जाने गर्छिन्।

महाकाली नदी जीविका चलाउने एक मात्रै साधन भएको राईसँगै माछा मार्दै आएकी पार्वती चौधरी बताउँछिन्। घरको सबै खर्च माछा बिक्रीबाट आएको आम्दानीले धानिएको उनले बताइन् ।

‘विगतको तुलनामा नदीमा थोरै माछा पाइन्छ, माछाको खोजीमै दिन बित्छ’, चौधरीले भनिन्। महाकालीमा महासिर, सिलर, रैना, असला, मगरीलगायत जातका माछा पाइन्छन् । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।