‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’
राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न नसकेको बताएका छन् ।
बुधबार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा उनीहरूले युवाहरूको भावना अनुसार सरकार चल्न नसकेको र जनताको विश्वास समेत जित्न नसकेको बताएका हुन् ।
साथै उनीहरूले नागरिक सरकारमा गएका मन्त्रीहरूले निर्वाचन अगावै राजीनामा दिएर सुशासनको एजेण्डालाई लत्त्याएको आरोप समेत लगाएका छन् ।
विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य नारायणदत्त भट्टले अहिलेको सरकारलाई नागरिक सरकार भनिए पनि सरकारमा सहभागी मन्त्रीहरूले अपेक्षा अनुसार काम गर्न नसकेको बताए ।
ओलीको स्पष्टीकरण : प्रधानमन्त्रीले गोली चलाउन आदेश दिँदैन, घुसपैठ भएर भदौ २३ को दुर्घटना निम्तियो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको घटनाबारे स्पष्टीकरण दिएका छन्। उनले केही दिनयता तत्कालीन प्रधानमन्त्री हुँदाको समयमा आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्दै गलत प्रचार भइरहेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा निराधार भनेका हुन् ।
संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको बताउँदै ओलीले आफूले त्यस्तो आदेश न दिएको, न दिने सोच नै गर्न नसक्ने बताएका छन्।
जेन-जी आन्दोलनका क्रममा भएको उक्त घटनापछि तत्कालै पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरिएको स्मरण गराउँदै २३ भदौमा ज्यान गुमाएका १९ जना बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
भदौ २३ गते घुसपैठको सम्भावना देखिएकाले सुरूमा माइतीघर मण्डल प्रदर्शन रोक्ने निर्णय गरिएको पनि बताएका छन्। तर शान्तिपूर्ण सभाको अनुमति मागेपछि प्रशासनले सहजै स्वीकृति दिएको उनले स्मरण गराए ।
सरकारको वैधतामा मुद्दा विचाराधीन, तत्काल सुनुवाइको माग गर्दै कांग्रेस सर्वोच्च जाने
नेपाली कांग्रेसका केही सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेका छन्।
पार्टीको डेलिगेसन टोलीले भोलि बिहान १० बजे सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने नेता श्यामकुमार घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार एमाले र कांग्रेससहितका ठूला दलहरूले वर्तमान सरकारलाई मान्यता नदिएको र सरकारको वैधतामाथि प्रश्न उठाउँदै दायर गरिएको मुद्दा अदालतमा विचाराधीन रहे पनि हालसम्म सुनुवाइ सुरु भएको छैन।
‘हामी अदालतको निर्णय मान्छौँ। मुद्दामा तुरुन्त पेशी तोकेर सुनुवाइ सुरु होस् भन्ने मागसहित सर्वोच्च जान लागेका हौँ,’ उनले भने ।
देशका विभिन्न स्थानमा हिमपात
देशका विभिन्न स्थानमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि हुम्ला, मुगु, डोल्पा, जुम्ला, मनाङ, मुस्ताङ लगायतका जिल्लामा बाक्लो हिमपात भएको हो ।
हिमपातका कारण सडक यातायातमा अवरोध उत्पन्न भएको छ भने विद्यालय, कार्यालय र दैनिक गतिविधि प्रभावित भएका छन् ।
बालेन दार्चुला पुग्दा स्थानीयको उत्साह
रास्वपा वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम दौडाहाका क्रममा छन् ।
उनी आज डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन् । उनले रास्वपा डडेलधुराका उम्मेदवार डा तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन् । दार्चुलामा उनी पुग्दा उनका समर्थकको भिड लागेको छ ।
युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित
भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता (एफटीए) सम्बन्धी वार्ता सम्पन्न भएको छ।
१६औँ भारत–ईयू शिखर सम्मेलनका क्रममा भएको भारत–ईयू यो सम्झौताले अब अमेरिकी दबाब कम गर्नेछ ।
यो सम्झौताले विश्वका चौथो र दोस्रो ठूलो अर्थतन्त्रलाई आपसमा जोडेको छ । जसले संयुक्त रूपमा विश्वको करिब २५ प्रतिशत कुल गार्हस्थ उत्पादन(जीडीपी)प्रतिनिधित्व गर्छन्।
सम्झौताअन्तर्गत वस्तु तथा सेवा व्यापार, व्यापार उपचार, उत्पत्तिको नियम, भन्सार तथा व्यापार सहजीकरणजस्ता परम्परागत क्षेत्रसँगै साना तथा मझौला उद्यम, डिजिटल व्यापारलगायत उदीयमान क्षेत्र समेटिएका छन्।