रत्ननगर, असोज २९ । रत्ननगर नगरपालिकाको वडा नम्बर १ मा रात्रीकालीन बजार सञ्चालन हुने भएको छ । वडा कार्यालय र रात्रीकालीन बजार व्यवस्थापन समितिको संयुक्त पहलमा कार्तिक १० गतेदेखि बजार सञ्चालनमा ल्याइने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा वडाध्यक्ष कुलप्रसाद सापकोटाले कार्तिक १० गतेदेखि प्रत्येक सोमबार बजार सञ्चालन हुने बताए। उनले बजार मुख्य राजमार्ग र वडा कार्यालयको सडकबाट सेभ सुपरमार्केट प्रवेश गर्ने सडकमा रहने जानकारी दिए। “यो बजारले स्थानीय व्यवसायीहरूलाई थप अवसर प्रदान गर्नेछ र उपभोक्ताहरूलाई आकर्षित गर्नेछ,” सापकोटाले भने।

बजार व्यवस्थापन समितिका संयोजक पुष्पराज श्रेष्ठले बजारमा ५० भन्दा बढी स्टलहरू रहने बताए। बजार दिउँसो ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। “हामीले स्थानीय उत्पादन, दैनिक उपभोग्य खाद्यान्न, रेस्टुरेन्ट, लत्ताकपडा लगायतका स्टलहरू राख्ने योजना बनाएका छौँ। यसले रात्रीकालीन समयमा आर्थिक गतिविधि बढाउन सहयोग गर्नेछ,” श्रेष्ठले भने।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष शङ्कर गिरीले रत्ननगरमा पहिलो पटक रात्रीकालीन बजार सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गरे। उनले अन्य वडाहरूमा पनि यस्ता बजार सञ्चालन गर्न सकिने विचार राख्दै सङ्घबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। “यो पहलले नगरपालिकाको समग्र आर्थिक विकासमा योगदान पुर्याउनेछ। हामी यसलाई सफल बनाउन सहयोग गर्न तयार छौँ,” गिरीले भने।
पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य राम रिमाल, वडाका टोलका अध्यक्षहरू, स्थानीय व्यवसायीहरू लगायतको उपस्थिति थियो।







