रत्ननगर, भदौ २१ । केही वर्ष अगाडि सम्म गिद्ध भन्ने बित्तिकै छुन नहुने, सिनो खाने प्राणी भएकाले मानिसले यसलाई मन पराउँदैनथे । प्रकृतिको कूचीकारको रूपमा रहेको यो चराको लोप हुने जोखिम बढेपछि अहिले समुदाय नै संरक्षणमा जुटेको छ ।
समुदायस्तरबाट लोपोन्मुख संरक्षणको काम सुरु भएपछि पूर्वी नवलपरासी र आसपासको क्षेत्रमा लोपोन्मुख गिद्धको संख्या बढेको छ । जिल्लाको कावासोती नगरपालिकाको पिठौलीमा समुदायबाट गिद्ध संरक्षणका लागि सन् २००६ मा जटायु रेस्टुरेन्ट स्थापना गरेको १९ वर्ष पुग्यो । सन् २००६ मा ७१ वटा गिद्ध गणना भएकोमा सन् २०२३ मा ५ सय ११ वटा लोपोन्मुख गिद्धको गणना भएको थियो ।
विश्वबाटै लोप हुन लागेको डगर प्रजातिको गिद्धको प्रवद्र्धनका लागि दक्षिण एसियाकै पहिलो पिठौलीमा जटायु रेस्टुरेन्ट खोलेर समुदाय नै संरक्षणमा जुटेको हो ।
यसैक्रममा रत्ननगर-७ मा रहेको ग्रिन सोसाईटी पब्लिक स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई वर्ड एजुकेशन सोसाईटीले पूर्वी नवलपरासीको पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा गिद्ध अबलोकन गराएकोछ । पाठ्यक्रमा आधारित चरा मार्न हुँदैन, चरा संरक्षण गर्नुपर्छ भन्ने उद्धेश्यले वर्ड एजुकेशन सोसाईटीका पूर्व अध्यक्ष बासु बिडारीको अगुवाईमा शनिवार विद्यार्थीहरूलाई गिद्ध अवलोकन गराईएको छ ।
वर्ड एजुकेशन सोसाईटीले हरेक शनिवार फरक फरक स्थानमा चराहरु अबलोकन गराउदै आइरहेको विद्यालयका म्यानेजमेन्ट डाईरेक्टर एंव एनुकेशन सोसाईटिका सदस्य शीरलाल परियारले बताए ।
चितवनस्थित कसरामा प्रजनन केन्द्रको स्थापना गरेर बच्चा हुर्किएपछि प्राकृतिक स्थानको लागि पिठौलीमा ल्याएर छाडिने गरेको छ । सन् १९९० सम्म नेपालमा लाखौंको सख्यामा देखिने गिद्धको संख्या स्वाट्टै घट्यो । एकाएक लोप हुन थालेपछि संरक्षणकर्मी चिन्तित बने । त्यसपछि स्थानीय स्तरबाट संरक्षणमा साथ दिन सन् २००६ मा जटायु रेस्टुरेन्ट नामक गिद्ध संरक्षण केन्द्र सुरु गरिएको थियो । रेस्टुरेन्ट सञ्चालनमा आएको १९ वर्षमा ६ सयभन्दा बढी लोपोन्मुख गिद्ध बढेको चराविद् तथा जटायु रेस्टुरेन्टका परिकल्पनाकार डीबी चौधरीले बताए । जटायु रेस्टुरेन्टमा प्रत्येक दिन गिद्धलाई सिनो खान दिइन्छ । नमुना सामुदायिक मध्यवर्ती वनभित्र रहेका सिमलको रुखमा गुड बनाएर बसेका गिद्धलाई हरेक दिन आहारा दिने गरिन्छ । यसका लागि कावासोतीका ४१ वर्षीय यमबहादुर नेपाली १९ वर्षदेखि रेस्टुरेन्टमा खटिँदै आएका छन् । गाउँमा कतै पशु चौपाया मरेपछि जटायु रेस्टुरेन्टमा खबर गर्छन् । अनि नेपाली सहयोगीसहित मरेका पशु लिन गाउँमा गएर गिद्धलाई खुवाउँछन् । पशु मरेको जानकारी नआएमा बजारबाट किनेर भए पनि आहारा दिने गरिन्छ ।
किसानले गाईवस्तुको उपचारमा ‘डाइक्लोफेनिक’ नामक औषधि प्रयोग गर्थे । उक्त औषधि खुवाइएका पशु मरेपछि गिद्धले खान्थे । पशुमा प्रयोग भएको उक्त औषधिको असर गिद्धमा देखियो । बाहिरको सिनो खाएर गिद्ध मर्न थालेपछि संरक्षणका लागि जटायु रेस्टुरेन्ट खोलिएको चौधरीले सुनाए । नेपालमा पाइने सानो खैरो, जंगार, सुन गिद्ध, गोब्रे, राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र हाडफोर गिद्धमध्ये सानो खैरो, डगर, सुन गिद्ध र गोब्रे गिद्ध अति संकटोन्मुख अवस्थामा छन् ।
पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनिक नामको औषधि बिक्री वितरणमा सरकारले सन् २००६ मा प्रतिबन्ध लगाएपछि सिनो खाएर गिद्ध मर्ने क्रम घटेको छ । तर, विद्युतीय हाइटेन्सन लाइनमा परेर सन् २०१० देखि अहिलेसम्म १ सय १० वटा बढी गिद्ध मरेको छ । डाइक्लोफेनेक प्रतिबन्धले गिद्धको संख्या बढ्दै गएको छ । तर, हाइटेन्सन लाइनको तीव्र बिस्तारले गिद्ध संरक्षणमा नयाँ चुनौती थपिएको संरक्षणकर्मी बताउँछन् ।
जटायु रेष्टुरेन्टमा गिद्ध अबलोकनका क्रममा कोषाध्यक्ष चन्द्रमणी गौली, पूर्व सचिव नारायण रिजाल, फ्रेन्ड्स अफ नेचरका अध्यक्ष सोम वहादुर जिसी, ग्रीन सोसाईटी नेपालका अध्यक्ष कृष्ण सापकोटा, सदस्य गौतम गिरी, पूजा कुमाल, ग्रीन सोसाईटी पव्लीक स्कुलका प्राधानाध्यापक किरण भुषाल लगाएत नेचरगाईहरुको सहभागिता रहेको थियो ।







