गीता पंगेनी, रत्ननगर, साउन १ । सरकारका प्रवक्ता एंव शिक्षा मन्त्री सस्मित पाेखरेलले रत्ननगर नगरपालिका वडा नं. १३ मा रहेकाे श्री राष्ट्रिय आधारभूत विद्यालयमा सञ्चालित अटिजम श्रोत कक्षाको अनुगमन तथा अवलोकन गरेका छन् ।
अनुगमनका क्रममा मन्त्री पोखरेलले नेपालमा रहेका २७ हजार सामुदायिक विद्यालयलाई समावेशी विद्यालय बनाइने बताए ।
आगामी वर्षबाट सात वटै प्रदेशका लागि अटिजम स्कुलका लागि बजेट समेत छुट्याई सकिएको उनकाे भनाई छ ।
यस विद्यालयमा रत्ननगर, कालिका, खैरहनी र भरतपुर महानगरपालिकाका गरि ३० जना विद्यार्थीहरु अध्यनरत छन् ।
विद्यालयमा अध्यापनका लागि नगरपालिकाले ४ जना शिक्षिकाहरुकाे व्यवस्था गरेको छ । निःशुल्क रुपमा सञ्चालित यो स्कूल नेपालकै पहिलो समावेशी स्कूल भएको व्यवस्थापन समितिका अध्यक्ष नरहरि पुरीले दाबी गरे ।
अवलोकनका क्रममा पुरीले विद्यालयको अवस्था, श्रोत तथा कक्षा सञ्चालनमा कठिनाइ समेटिएको पत्र मन्त्री सामु प्रस्तुत गरी हस्तान्तरण गरेका थिए ।
विशेष कक्षा सञ्चालन गरेर उदाहरणीय कार्य गरेको भन्दै आगामी दिनमा स्कुललाई अझ व्यवस्थित बनाउने मन्त्री पोखरेलले प्रतिबद्धता जनाए ।
अवलोकनका क्रममा चितवन क्षेत्र नं १ का सांसद हरि ढकाल र प्रभा ढकालको उपस्थिति रहेको थियो ।








