कालिका, वैशाख २६ । चितवनकाे कालिका नगरपालिकाको बहुप्रतिक्षित योजना अन्तर्गत वडा नं. १० तीनदोभानमा निर्माणाधीन पक्की पुलको ढलान तथा अन्य निर्माण कार्यको नगर प्रमुख विनोद रेग्मी र उप–प्रमुख बिमला तामाङले अनुगमन गर्नुभएको छ।

४ करोड ३८ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण भइरहेको उक्त पुल २०८३ साल पौष ३० गतेसम्म सम्पन्न गर्ने सम्झौता भए पनि स्थानीय बासिन्दाको माग र बर्खायाममा हुने जोखिमलाई ध्यानमा राख्दै यही असारभित्र सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता दिईएको नगर प्रमुख ले जानकारी दिनुभयो । निर्माण व्यवसायीले पनि सम्झौताअघि नै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

चेपाङ समुदायको घना बसोबास रहेको यस क्षेत्रमा प्रत्येक वर्ष बर्खायाममा खोला तर्ने क्रममा ज्यान जाने दु:खद घटना दोहोरिँदै आएको कारण यसपटक समय अगावै पुल सञ्चालन गर्ने तयारी गरिएको नगर प्रमुख रेग्मीले बताउनुभएको छ।
४० मिटर स्पान रहेको पुलमा दायाँ–बायाँ ६०–६० मिटर एप्रोज रिभर कन्ट्रोल संरचना निर्माण गर्ने प्रावधान रहेको छ। हाल ढलान तथा खोलाको दुवै किनारामा ड्याम निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।
पुलको लम्बाइ १२.५ मिटर र चौडाइ ८.४ मिटर रहने बताइएको छ ।








